Article Index
नेपालमा जैविक विविधताको अनुगमन:
विश्वमान चित्रमा ०.०९ प्रतिशत मात्र स्थल क्षेत्र ओगट्ने नेपालमा विश्वको कूल जैविक विविधता मध्ये २.३ प्रतिशति भाग ओगट्ने कुरो सार्वजनिक भैसकेको छ । त्यस मध्ये ३५० वनस्पतिका तथा १६० प्राणीका प्रजातिहरु नेपाल वाहेक अन्त कहि पनि पाइदैनन् । यसका साथै नेपालमा पाइने प्राणी एवं वनस्पतिहरुका आर्थिक सामाजिक, धार्मिक वातावरणीय, एवं पर्यटकीय महत्वहरु पनि भएकोले यिनको जगेर्ना गर्नु आवश्यकता मात्र नभई वाध्यता पनि हो ।
त्यसो त नेपालमा परापूर्व काल देखि नै प्राकृतिक स्रोतहरुका संरक्षण गर्ने चलन समाजिक प्रथा भित्रै समाविष्ट गरिए कै हो तथापि वढ्दो जनसंख्या, भू-क्षय, माटोको उर्वरापनमा कमि आदि करणहरुले गर्दा प्राकृतिक स्रोत खास गरी वन जंगलमा चाप पर्न जानाले ती सामाजिक मूल्य मान्यताहरु बिस्तारै हराउंदै जादैछन् । यस कारण राज्यले नियम कानूनका आधारमा वन जंगल एवं त्यस भित्र रहेका जैविक विविधताको संरक्षण गर्ने प्रयास गर्दो छ । यस क्रममा देशको कूल भू-भाग मध्ये झण्डै २० प्रतिशत क्षेत्रलाई संरक्षण क्षेत्र भनि छुट्याइनु, विभिन्न प्रजातिहरुलाई (वनस्पतिका १८ तथा प्राणीका ३९ प्रजातिहरु) कानूनद्धारा संरक्षण प्राप्त गरिनु, संख्या घट्दै गएकालाई संकटापन्न भनि सूचिकृत गरिनु र तिनको दोहनमा रोक लगाइनु तथा राज्यले अन्तराष्ट्रिय जगतसंग जैविक विविधताको संरक्षण गर्ने प्रतिवद्दता जनाउदै विभिन्न संघ महासंधीहरुमा हस्ताक्षर गरी अनुमोदन गर्नु आदि कार्यहरु गरिनुलाई शुभ लक्षण मान्नै पर्दछ । यसका केही राम्रा नतिजाहरु पनि देखा परेका छन ।
यति हुँदा हुदै पनि सन् २००१ मा प्रकाशित नेपाल जैविक विविधता रणनीतिले भने देश कै जैविक विविधता उपर अझै खतरा रहिरहेको कुरा उल्लेख गरेको छ यसमा अन्य कारणहरुका साथै जैविक विविधता सम्वन्धी तथ्याङ्क एवं सूचनाहरुका अभाव एवं तिनका व्यवस्थापन पनि एक प्रमुख कारक तत्व रहेको जनाइएको छ ।
अनुगमन
अनुगमन त्यो प्रकृया हो जसमा आधारभूत तथ्याङ्क एवं सूचनाहरु संकलन गरिन्छ ताकि त्यसले पछि मूल्यांकन कार्यलाई सहयोग गरोस । जैविक विविधता संरक्षणका खातिर नेपाल जैविक विविधता रणनीति २००१ ले निम्न कुराहरुको अनुगमन गरिनु पर्ने आवश्यकता औल्याएको छ:
१. वासस्थानको अनुगमन
२. प्रजाति विशेषको अनुगमन
३. लाभांशको अनुगमन
४. व्यवस्थापन अनुगमन
५. भौतिक तत्वको अनुगमन
यस अन्तरगत देशभरीका वन जंगल र तिनका घनत्व वारे वन अनुसन्धान तथा र्सर्वैक्षण विभागद्धारा अनुगमनकार्य गरिने छ ।
क. वन, घाँसे मैदान, खेत तथा सिमसार आदि क्षेत्रहरुमा पाइने मुख्य मुख्य प्रजातिहरुलाई वेला वेलामा सम्वन्धित मन्त्तालयहरु एवं अन्य गैह्र सरकारी संस्थाहरुद्धारा अनुगमन गरिने ।
ख. जैविक विविधतासंग सरोकार राख्ने व्यक्ति/समुदायहरुले उत्पादित वस्तु एवं सेवाहरुबाट के कस्तो लाभ हासिल गर्न सकेका छन वारे अनुगमन गरिने ।
ग. जैविक विविधता सम्वन्धि व्यवस्थापन योजनाहरुमा अनुगमनको पक्षलाई समावेश गर्ने ।
घ. सम्वन्धित निकायद्धारा जल, थल तथा वायूमा हुन जाने प्रदुषण एवं भू-क्षयको अनुगमन गर्ने ।
वन तथा भू-संरक्षण मन्ालय र यस अन्तरगतका विभिन्न निकायहरुद्धारा वन जंगल खास गरी संरक्षण क्षेत्रहरु भित्रका जैविक विविधताहरुका अनुगमन गरिने तथा कृषि तथा सहकारी मन्त्रालय र मातहतका निकायहरुद्धारा कृषि क्षेत्रका जैविक विविधता तथा प्रदुषण र त्यसद्धारा जैविक विविधतामा पने असरहरु सम्वन्धी अनुगमन भने वातावरण, विज्ञान तथा प्रविधि मन्त्रालयहरुले गर्ने छन् ।
"अनुगमन" भनिने शव्द जति सजिलोसंग प्रचलनमा आएको छ त्यो कार्य त्यत्ति सजिलो भने छैन । कसैले हात पछाडी राखी टाउको हल्लाउदै आयोजना संचालकलाई प्रश्न सोध्दैमा अनुगमन कार्य हुनै सक्दैन । यसका लागि जैविक विविधतामा सकारात्मक वा नकारात्मक असर पार्न सक्ने सम्वन्धित आयोजना शुरु हुनु पूर्व संचालनका वखत तथा आयोजना सम्पन्न हुन लाग्दाका वेलामा अनुगमन गर्ने शुरुमै एक अनुगमन योजना तैयार गर्नु पर्दछ । उक्त योजनामा नाप्न सकिने सूचाङ्कहरुको यथोचित छनौट गरी समावेश गर्न सक्नु सवैभन्दा कठिन विषय हो । यसका लागि निकै दक्षता चाहिन्छ । दुर्भाग्यवस जैविक विविधता अनुगमन कार्यमा विषयगत दक्षताको ठूलो कमिका कारण यो काममा कुनै पनि निकायहरु ठोस रुपमा अघि वढ्न सकेको देखिदैनन ।
उपरोक्त कुराहरुलाई मध्य नजर गर्दै जैविक विविधता अनुगमन कार्यका लागि जनशक्तिको विकास गर्नु पहिलो आवश्यकता हो भने अनुगमन कार्यलाई प्राथमिकता दिइनु दोस्रो ठूलो कुरो हो । यति गरिसके पछि सम्वन्धित विज्ञहरुद्धारा तयार पारिएको अनुगमन योजना अनुसार तथ्याङ्क एवं सूचनाहरु संकलन गरिनु, विश्लेषण गरिनु र त्यसका आधारमा मूल्याङ्कन गरि समय मै सचेत हुन सके मात्र सन् २०१० ले तोकेको लक्ष्य मुताविकको Significant reduction in the rate of biodiversity lose प्राप्त गर्न सकिएला ।
डा. सुशीमरञ्जन वराल
वातावरण अधिकृत
|